क्रोएसियाको संघर्षपूर्ण जित, पानामा समूह चरणबाटै बाहिरियो

काठमाडौं । फिफा विश्वकप २०२६ को समूह एल अन्तर्गत क्यानडाको टोरन्टो स्टेडियममा आज सम्पन्न निकै प्रतिष्पर्धात्मक खेलमा क्रोएसियाले पानामामाथि १–० को कठिन जित हासिल गरेको छ। पहिलो खेलमा इंग्ल्याण्डसँग पराजित भएको क्रोएसियाले यो जितसँगै प्रतियोगितामा ३ अंक जोड्दै अघिल्लो चरण प्रवेशको सम्भावना बलियो बनाएको छ।

अर्कोतर्फ, लगातार दोस्रो पराजय बेहोरेको पानामा भने विश्वकपको समूह चरणबाटै बाहिरिने पहिलो टोलीहरूमध्ये एक बनेको छ। दुवै टोलीका लागि ‘गर या मर’ को अवस्था रहेको यस खेलको पहिलो हाफ निकै रोमाञ्चक तर गोलरहित टुङ्गिएको थियो। ६४ प्रतिशत बल पजेसन आफ्नो नियन्त्रणमा राखे पनि क्रोएसियाले पानामाको बलियो डिफेन्स तोड्न निकै संघर्ष गर्नुपऱ्यो।

क्रोएसियाका सदाबहार कप्तान लुक मोड्रिचले आफ्नो देशका लागि २००औँ अन्तर्राष्ट्रिय खेल खेल्दै ऐतिहासिक कीर्तिमान बनाए। पानामाका अमिर मुरिल्लो र जोसे लुइस रोड्रिगेजले केही राम्रा अवसरहरू सिर्जना गरे पनि क्रोएसियाका गोलकिपर डोमिनिक लिभाकोभिचले उत्कृष्ट बचाउ गर्दै खेललाई बराबरीमा राखे।

पहिलो हाफमा स्पष्ट अवसरहरू सिर्जना गर्न नसकेपछि क्रोएसियाका मुख्य प्रशिक्षक ज्लाट्को डालिचले दोस्रो हाफको सुरुवातमै रणनीति परिवर्तन गर्दै फरवार्ड पेतार मुसाको स्थानमा आन्ते बुडिमिरलाई मैदान प्रवेश गराए। यो निर्णय क्रोएसियाका लागि निकै फलदायी सावित भयो। खेलको ५३ औँ मिनेटमा डिफेन्डर जोसिप स्टानिसिचले दाहिने भागबाट निकालेको उत्कृष्ट क्रसलाई सदुपयोग गर्दै आन्ते बुडिमिरले आकर्षक गोल गरे।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top