नेपाल पत्रकार महासंघ काठमाको २५औँ साधारणसभा सम्पन्न

काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको २५औँ साधारणसभा शनिबार नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयको सभाहलमा सम्पन्न भएको छ । साधारणसभामा पत्रकारिताको वर्तमान अवस्था, प्रेस स्वतन्त्रता, सञ्चारमाध्यमको विश्वसनीयता तथा पत्रकारको पेशागत सुरक्षाका विषयमा गम्भीर छलफल गरिएको थियो । काठमाडौं शाखाकी अध्यक्ष शोभा अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शाखाका संस्थापक अध्यक्ष किशोर नेपाल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । कार्यक्रममा बोल्दै उनले पछिल्लो समय पत्रकारिता पेशा विभिन्न चुनौतीबीच गुज्रिरहेको उल्लेख गरे । उनले पत्रकारहरू एकताबद्ध भएर पेशागत अस्तित्व र सञ्चारमाध्यमको विश्वसनीयता जोगाउन अग्रसर हुनुपर्ने बताए ।

उनले सामाजिक सञ्जालको तीव्र प्रभावका कारण सूचना प्रवाहको स्वरूप परिवर्तन भए पनि मूलधारका सञ्चारमाध्यमको भूमिका अझै सशक्त र अपरिहार्य रहेकोमा जोड दिए । ‘पत्रकारले निष्पक्षता, निर्भीकता र आचारसंहितालाई आत्मसात गर्न सकेमात्र पत्रकारिताप्रतिको जनविश्वास कायम रहन्छ’ उनले भने । प्रमुख अतिथि नेपालले सरकारले सञ्चारमाध्यमप्रति लिँदै आएको विज्ञापन नीति अस्थिर रहेको टिप्पणी गर्दै निजी सञ्चारमाध्यम आर्थिक संकटमा परेको बताए । पत्रकारिताको संस्थागत अस्तित्व जोगाउन पेशागत एकता आवश्यक रहेको भन्दै उनले काठमाडौं शाखाले देशभरका पत्रकारलाई नेतृत्वदायी दिशा दिन सक्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्माले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप बढ्दै गएको बताइन् । उनले राज्यले विभिन्न कानुन तथा सरकारी परिपत्रमार्फत सञ्चारमाध्यमलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको आरोप लगाइन् । उनले महासंघले प्रेस स्वतन्त्रताको पक्षमा निरन्तर आन्दोलन गरिरहेको जानकारी दिँदै अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक तथा स्वतन्त्र पत्रकारितालाई थप मजबुत बनाउन संविधान संशोधनका विषयमा समेत सुझाव दिने बताइन् ।
महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष उमिदप्रसाद बागचन्दले नेपाली पत्रकारिता मर्यादित बाटोबाट क्रमशः विचलित हुँदै गएकोप्रति चिन्ता व्यक्त गरे । महासंघकी पूर्वकार्यवाहक अध्यक्ष बाला अधिकारीले विगतमा सामाजिक सञ्जाल बन्द हुँदा समेत महासंघ प्रभावकारी रूपमा उभिन नसकेको टिप्पणी गरिन् । शाखाका पूर्व अध्यक्ष तथा प्रेस काउन्सिल नेपालका पूर्वसदस्य शन्तराम बिडारीले पत्रकारिताको पेशागत संरक्षणका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिए । उनले महासंघजस्तो मर्यादित संस्थाले सही निर्णय लिन नसके थप संकट निम्तिन सक्ने भन्दै पत्रकार महासंघलाई स्वतन्त्र रूपमा अगाडि बढाउनुपर्ने धारणा राखे ।

काठमाडौं शाखाकी अध्यक्ष शोभा अर्यालले आफ्नो कार्यकालमा शाखाले संस्थागत सुदृढीकरण, प्रेस स्वतन्त्रताको रक्षा, पत्रकारको क्षमता अभिवृद्धि तथा सञ्चार क्षेत्रका समस्याको समाधानका लागि सक्रिय भूमिका खेलेको जानकारी दिइन् । उनका अनुसार शाखाले ‘मिडिया बचाउ अभियान’, पत्रकार तालिम, रक्तदान कार्यक्रम तथा अन्तरजिल्ला सहकार्यजस्ता गतिविधि प्रभावकारी रूपमा सञ्चालन गरेको छ ।

सीमित स्रोतसाधनका बाबजुद शाखाको गरिमा उँचो राख्ने प्रयास गरिएको उल्लेख गर्दै शाखा अध्यक्ष अर्यालले आगामी दिनमा पनि पत्रकार हित र संस्थागत विकासका लागि निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरिन् । कार्यक्रममा प्रेस युनियन नेपालका अध्यक्ष शिव लम्साल, लोकतान्त्रिक छापा माध्यमका अध्यक्ष दामोदर दवाडी, जनपत्रकार संगठनका अध्यक्ष शेरबहादुर विक, शाखाकै पूर्वअध्यक्षसमेत रहेका निवर्तमान केन्द्रीय सचिव गोविन्द चौलागाईं, प्रेस काउन्सिल नेपालका पूर्वसदस्य नकुल अर्याललगायत विभिन्न सञ्चारसम्बद्ध संघसंस्थाका प्रतिनिधिहरूले शाखालाई साधारणसभाको शुभकामना दिएका थिए ।

महासंघका केन्द्रीय कोषाध्यक्ष रामकृष्ण अधिकारीले पत्रकार महासंघले गर्ने हरेक गतिविधि नागरिकको पक्षमा केन्द्रित हुनेमा जोड दिए । काठमाडौं शाखाका निवर्तमान अध्यक्ष तथा केन्द्रीय सदस्य सूर्य सुवेदीले नेतृत्व तहमा पारदर्शिता र खुला बहसको आवश्यकता रहेको औँल्याए । कार्यक्रममा शाखाकी उपाध्यक्ष कान्ति न्यौपानेले स्वागत मन्तव्य राखेकी थिइन् । शाखा सदस्यद्वय मञ्जु धिमिरे र अनिसा निरौलाले अतिथिहरूलाई खादा ओढाएर स्वागत गरेका थिए । कार्यक्रम सञ्चालन शाखाका सचिव रमेश कुमार बोहोराले गरेका थिए । साधारणसभाको बन्दसत्रमा सचिव बोहोराले वार्षिक सांगठनिक प्रतिवेदन तथा कोषाध्यक्ष रामचन्द्र कार्कीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । दुवै प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरिएको थियो ।

सचिव वोहोराले साधारणसभामा पेश गरेको प्रतिवेदन उत्कृष्ट भएको भन्दै सहभागीहरुले प्रसंशा गरेका थिए । कतिपयले भनें यसअघि आउने गरेको भन्दा यो प्रतिवेदन हरेक ढंगले व्यवस्थित र पारदर्शी भएको बताए । प्रतिवेदनमा शाखाको सम्पूर्ण गतिविधि समावेश गरिएको थियो । यो कार्यकालको लागि भएको निर्वाचनमा बनेको निर्वाचन समितिबाट प्राप्त राष्ट्रिय परिषद् सदस्यहरु र प्रदेश परिषद् सदस्यहरुको नाम समावेश गरिएको प्रतिवेदनमा स्थापनाकालदेखि हालसम्मको कार्यसमितिको सम्पूर्ण नामावली समावेश गरिनुलाई पनि धेरैले एउटा इतिहार र दस्तावेज भएको भनेर व्याख्या गरेका छन् । २०४९ सालमा स्थापना भएको शाखाको संस्थापक सभापति किशोर नेपाल थिए । उनी महासंघको केन्द्रीय अध्यक्षसमेत भइसकेका छन् । सचिव बोहोराले आगामी कार्ययोजना र नीतिमा ११ बुँदे कार्ययोजना समेत प्रतिवेदनमा समावेश गरेका छन् ।

साधारणसभाले संस्थागत सुदृढीकरण, प्रेस स्वतन्त्रता तथा पत्रकारको पेशागत मर्यादा संरक्षणलाई प्राथमिकतामा राख्दै घोषणापत्रसमेत जारी गरेको छ । सचिव बोहोराले पत्रकारको हकहितका लागि शाखाले निरन्तर काम गर्दै आएको समेत जनाए । शाखाका सचिव बोहोराको प्रतिवेदनको पूर्णपाठ

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top