काठमाडौं । ६१ मेगावाटको नार खोला जलविद्युत आयोजनामा लगानी टुंगो लागेको छ । आयोजना निर्माणका लागि कुमारी बैंकको अगुवाइमा ५ बैंकले साढे ९ अर्ब रुपैयाँ ऋण लगानी गर्ने भएका छन् ।
यस सम्बन्धमा नार खोला हाइड्रो इनर्जी प्रालि र बैंकबीच सोमबार सम्झौता भएको छ । नार खोला हाइड्रोका अध्यक्ष बटु लामिछाने र कुमारी बैंकका प्रमुख क्षेत्रीय कर्जा अधिकृत अर्पण पोखरेलले सम्झौतामा हस्ताक्षर गरे । सम्झौता अनुसार कुमारी बैंकको अगुवाईमा नेपाल एसबिआई, कृषि विकास, एनआइसी एसिया र मुक्तिनाथ विकास बैंकले लगानी गर्नेछन्। आयोजनाको प्रवर्धक सिंगटी हाइड्रो लिमिटेड हो ।
आयोजनाको कुल लागत १२ अर्ब ८४ करोड रुपैयाँ रहेकोमा बैंकले ९ अर्ब ६३ करोड रुपैयाँ कर्जा लगानी गर्नेछन् भने बाँकी ३ अर्ब २१ करोड रुपैयाँ स्वपुँजीबाट जुटाइनेछ । स्वपुँजीतर्फ सिंगटी हाइड्रो इनर्जीको मुख्य लगानी रहने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार मनाङको नार्पा भूमि र नासोङ गाउँपालिकामा रहेको नार खोला र सोती खोलाको पानीलाई एकीकृत गरी ६१.११ मेगावाटको आयोजना निर्माणका लागि सबै प्रकृया पूरा भएको छ ।
आयोजनाको ग्रस हेड ५८८.८२ मिटर रहने र वार्षिक ३६६.४८ गिगावाट घण्टा विद्युत उत्पादन हुने कम्पनीले जनाएको छ । आयोजनाले वार्षिक २ अर्ब १० करोड रुपैयाँको विद्युत बिक्री गर्नेछ । आयोजनामा विद्युत उत्पादनका लागि २०.३७ मेगावाट क्षमताका ३ वटा टर्बाइन प्रयोग हुनेछन्। आयोजनाको हेडरेस टनेल करिब ८ किलोमिटर लम्बाइको हुनेछ ।



