काठमाडौं । सरकारले उच्च प्रशासनिक तहमा व्यापक हेरफेर गर्दै एकैपटक २५ जना सहसचिवको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयका पाँच जना सहसचिवसहित कुल २५ जनालाई विभिन्न मन्त्रालय तथा प्रदेशका कार्यालयहरूमा सरुवा गर्ने निर्णय गरेको हो ।
सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काजमा खटाइएका प्रदीप परियारलाई सोही कार्यालयमा स्थायी रूपमा सरुवा गरेको छ । यस निर्णयसँगै लामो समयदेखि काजमा कार्यरत रहेका परियार अब औपचारिक रूपमा त्यहीँ जिम्मेवारी सम्हाल्ने भएका छन् ।
अर्थ मन्त्रालयका पाँच जना सहसचिवलाई भने प्रदेशतर्फ पठाइएको छ । अर्थ मन्त्रालय अन्तर्गतका सेवन्तक पोखरेल र महेश बराललाई मधेश प्रदेशमा सरुवा गरिएको छ भने महेश भट्टराईलाई बागमती प्रदेश, मदन दाहाललाई सुदूरपश्चिम प्रदेश र सुशीला अर्याललाई लुम्बिनी प्रदेशमा पठाइएको छ । सरुवा गरिएका मध्ये महेश भट्टराई र सेवन्तक पोखरेल आगामी आर्थिक वर्षको बजेट लेखन समितिमा समेत संलग्न रहेका थिए ।
सरकारको निर्णयअनुसार प्रदेशगत रूपमा सहसचिवहरूको बाँडफाँड पनि गरिएको छ । मधेश र लुम्बिनी प्रदेशमा सबैभन्दा बढी ५–५ जना सहसचिव पठाइएको छ भने बागमती प्रदेशमा ४ जना खटाइएको छ । यस्तै, कोशी र गण्डकी प्रदेशमा २–२ जना पठाइएको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा एक–एक जना सहसचिव सरुवा गरिएको छ ।





