काठमाडौं । भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर अजिंक्य रहाणेले सबै प्रकारको क्रिकेटबाट तत्काल लागू हुने गरी सन्न्यासको घोषणा गरेका छन्। ३८ वर्षीय रहाणेले बिहीबार भिडियो सन्देशमार्फत १७ वर्ष लामो व्यावसायिक क्रिकेट यात्राको अन्त्य भएको जानकारी दिएका हुन्।
‘जीवनमा हरेक कुराको सुरुआत हुन्छ र अन्त्य पनि हुन्छ। समय आएपछि त्यसलाई स्वीकार गर्दै अघि बढ्नुपर्छ। ब्याटिङमा जस्तै जीवनमा पनि समयको महत्व हुन्छ। मलाई लाग्छ, अब सन्न्यास लिने यही सही समय हो,’ रहाणेले भने। सन् २०११ मा इंग्ल्यान्डविरुद्ध टि ट्वान्टी अन्तर्राष्ट्रियबाट भारतका लागि डेब्यु गरेका रहाणेले ८५ टेस्ट, ९० एकदिवसीय र २० टि ट्वान्टी अन्तर्राष्ट्रिय खेले।
टेस्ट क्रिकेटमा उनले १२ शतक र २६ अर्धशतकसहित ५ हजार ७७ रन बनाए। एकदिवसीयमा ३ हजार रन नजिक पुग्दा टि ट्वान्टी अन्तर्राष्ट्रियमा ३ सय ७५ रन जोडे। रहाणे भारतीय टेस्ट टोलीका भरपर्दा मध्यक्रमका ब्याटरका रूपमा परिचित थिए। उनले २०१४ मा लर्ड्समा शतक प्रहार गर्दै भारतलाई २८ वर्षपछि ऐतिहासिक टेस्ट जित दिलाएका थिए।
२०२०-२१ को बोर्डर गाभास्कर ट्रफीमा विराट कोहलीको अनुपस्थितिमा कप्तानी सम्हाल्दै रहाणेले भारतलाई अस्ट्रेलियामै लगातार दोस्रो टेस्ट सिरिज जिताएका थिए। मेलबर्नमा उनको शतक र गाबामा प्राप्त ऐतिहासिक जित उनको कप्तानीको सबैभन्दा ठूलो उपलब्धिका रूपमा स्मरण गरिन्छ। घरेलु क्रिकेटमा पनि रहाणेको योगदान उल्लेखनीय रह्यो। उनी मुम्बईका लागि प्रथम श्रेणी क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा तेस्रो स्थानमा छन्।
विदाइ सन्देशमा रहाणेले भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई), मुम्बई क्रिकेट संघ, आफ्ना प्रशिक्षक, टोलीका साथी, परिवार तथा समर्थकप्रति आभार व्यक्त गर्दै क्रिकेटसँगको सम्बन्ध भने निरन्तर रहने बताएका छन्। ‘भारतीय क्रिकेटरका रूपमा मेरो अध्याय सकिएको छ। तर क्रिकेटसँगको मेरो यात्रा समाप्त भएको छैन। अब नयाँ पुस्तालाई आफ्नो अनुभव बाँड्दै खेललाई केही फर्काउने चाहना छ,’ उनले भने।



