गुराँस लघुवित्तको नाफा ४८ प्रतिशत बढ्यो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं ।गुराँस लघुवित्त वित्तीय संस्थाको नाफामा उच्च वृद्धि देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४८ प्रतिशतले नाफा बढेको हो ।

गत आवको चैत मसान्तसम्म कम्पनीले २ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा यो कम्पनीको नाफा ४८.७४ प्रतिशतले बढेर ४ करोड ३ लाख रुपैयाँ पुगेको छ । त्यसैगरी समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ८ करोड ९२ लाख रुपैयाँबाट ४९.५७ प्रतिशतले बढेर १३ करोड ३४ लाख रुपैयाँ नाघेको छ भने कुल सञ्चालन आम्दानी ११ करोड १ लाख रुपैयाँबाट ३३.८१ प्रतिशतले वृद्धि भई १४ करोड ७४ लाख रुपैयाँ पुगेको छ ।

आम्दानीमा उल्लेख्य वृद्धि भएसँगै कम्पनीको सञ्चालन नाफा पनि गत आवको चैत मसान्तमा ३ करोड ८७ लाख रुपैयाँ रहेकोमा चालू आवको चैत मसान्तसम्म ४३ प्रतिशतले बढेर ५ करोड ५३ लाख रुपैयाँ नाघेको छ । चुक्ता पूँजी १३ करोड २३ लाख रुपैयाँ रहेको यस कम्पनीको रिजर्भ कोषमा ५ करोड ९१ लाख रुपैयाँ सञ्चिति रहेको छ । कम्पनीको वितरणयोग्य मुनाफा गत आवको चैत मसान्तसम्म २ करोड ५१ लाख रुपैयाँ रहकोमा चालू आवको सोही अवधिमा बढेर ३ करोड २१ लाख रुपैयाँ नाघेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ४०.६२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६८.९१ रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जा ३.०१ प्रतिशतबाट बढेर ३.४१ प्रतिशत कायम भएको छ । कम्पनीले २ अर्ब १७ करोड ७३ लाख रुपैयाँ ग्राहकमा कर्जा प्रवाह गरी ५८ करोड ४७ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top