काठमाडौं । स्विट्जरल्यान्डले क्यानडालाई पराजित गर्दै फिफा विश्वकप–२०२६ को ‘नकआउट’ चरणमा प्रवेश गरेको छ । क्यानडाको भ्यानकुभरस्थित बिसी प्लेस स्टेडियममा आज भएको खेलमा घरेलु टोली क्यानडालाई २–१ गोलअन्तरले हराउँदै स्विट्जरल्यान्ड समूह ‘बी’को समूह विजेता बन्दै नकआउट चरणमा पुगेको हो ।
स्विट्जरल्यान्डको जितमा रुबेन वर्गासले गोल गरे । उनले खेलको ४६ मिनेटमा गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाए । खेलको ५७ औ मिनेटमा जोहान मान्जाम्बीले गोल गर्दै स्विट्जरल्यान्डको अग्रता दोब्बर बनाए । त्यसपछि खेलको ७६औँ मिनेटमा क्यानडाका प्रमिस डेभिडले एक गोल गर्दै खेलमा फर्कने कोसिस गरे । तर खेलमा त्यसपछि गोल हुन सकेन र अन्ततः स्विट्जरल्यान्डले क्यानडामाथि २–१ गोलको जित निकाल्यो ।
स्विट्जरल्यान्डले तीन खेलबाट सात अङ्क जोड्यो । पराजित क्यानडा पनि समूह ‘बी’को दोस्रो स्थानमा रहँदै नकआउट चरणमा प्रवेश गरेको छ । क्यानडाको चार अङ्क छ । यसै समूहमा रहेको बोस्निया एन्ड हर्जगोभिनाको पनि समान चार अङ्क रहे पनि गोलअन्तरका कारण पछि प¥यो ।
आजै भएको अर्को खेलमा बोस्निया एण्ड हर्जगोभिनाले कतारलाई पराजित गर्दै जित निकालेको थियो । अङ्क तालिकाको तेस्रो स्थानमा रहेको बोस्निया एन्ड हर्जगोभिनाको तेस्रो टोली बनेर नकआउटमा जाने सम्भावना भने कायमै रहेको छ । बोस्निया एण्ड हर्जगोभिनाले कतारलाई ३–१ गोल अन्तरले पराजित गरेको थियो । एक अङ्क बटुलेको कतार भने विश्वकप छनोटबाट बाहिरिएको छ ।



