हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स २०२६’ले एनसेल फाउन्डेसनको सहर्कायमा विश्वका दिग्गज साहित्यिक व्यक्तित्वहरुलाई नेपालमा ल्याउने

काठमाडौं । ‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६’का आयोजकहरूले दक्षिण एशियाका प्रमुख अन्तर्राष्ट्रिय साहित्यिक जमघटहरूमध्ये एकको आगामी संस्करणको औपचारिक घोषणा गरेका छन् ।

यस महोत्सवमा नेपाल तथा विश्वका प्रतिष्ठित कवि, उपन्यासकार, संस्मरण लेखक, अनुवादक, चलचित्रकर्मी, विद्वान्, पत्रकार तथा उदाउँदै गरेका लेखकहरूको सहभागिता रहनेछ ।

एनसेल फाउन्डेसनको सहकार्यमा आयोजना हुने यस संस्करणको आठदिने अन्तर्राष्ट्रिय कार्यक्रम नेपाली साहित्यमा गुरु प्रसाद मैनालीले पु¥याउनुभएको दीर्घकालीन योगदानको सम्मानमा समर्पित गरिएको छ ।

मे २९ देखि जुन ५, २०२६ सम्म काठमाडौंमा आयोजना हुने यस वर्षको महोत्सव हिलिङ, चेतना, सिर्जनशीलता, स्मृति तथा तीव्र परिवर्तनशील विश्वमा सांस्कृतिक संवादका विषयमा केन्द्रित रहनेछ । सप्ताहव्यापी कार्यक्रममा मास्टर क्लास, कार्यशाला, मुख्य वक्तव्य, कविता वाचन, साहित्यिक संवाद, चलचित्र प्रदर्शन, सांस्कृतिक भ्रमण तथा साहित्य र कलाको रूपान्तरणकारी शक्तिमाथि केन्द्रित अन्तरविषयक छलफलहरू समावेश गरिएका छन् ।

यस महोत्सवमा पुलित्जर पुरस्कार विजेता कवि ट्रेसी के. स्मिथ र पल मल्डुन, चर्चित उपन्यासकार जीन ह्यान्फ कोरेलिट्ज, कवि तथा अनुवादक टोनी बार्नस्टोन, विश्वप्रसिद्ध हिमालयन कवि युयुत्सु शर्मा, आइरिश साहित्यिक सम्पादक मार्टिन डोयल, ब्रुकलिन ‘पोएट लौरिएट’ टिना चाङ लगायत नेपाल, भारत, आयरल्यान्ड, अस्ट्रिया, पोल्यान्ड, संयुक्त राज्य अमेरिका तथा अन्य देशका विशिष्ट साहित्यिक व्यक्तित्वहरूको सहभागिता रहनेछ ।

महोत्सवको उद्घाटन हिमालयन तथा विश्व साहित्यिक परम्पराको सङ्गमलाई उत्सवका रूपमा मनाउने विशेष समारोहद्वारा गरिनेछ । महोत्सवभरि कविता, संस्मरण, जादुई यथार्थवाद, कृत्रिम बुद्धिमत्ता (एआई) र सिर्जनात्मक लेखन, महिला साहित्य, आदिवासी आख्यान, आघात र हिलिङ, ध्यान र सिर्जना, अनुवाद, प्रस्तुति कला तथा डिजिटल युगमा साहित्यको भविष्यजस्ता विविध विषयमा सत्रहरू सञ्चालन गरिनेछन् ।

आइतबार काठमाडौंमा आयोजिक पत्रकार सम्मेलनमा बोल्दै हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटस २०२६ का आयोजक युयुत्सु शर्माले भने “साहित्य विलासिता होइन। यो मानव सभ्यतासँगै रहेको हिलिङको सबैभन्दा पुरानो माध्यम हो । यो महोत्सव हिमाली राष्ट्र नेपाल, यसको समृद्ध सांस्कृतिक सम्पदा र जीवन्त जीवनशैलीको गौरवमय उत्सव हो । यस महोत्सवले नेपालको गौरवलाई विश्वमञ्चमा उजागर गर्दछ ।”

यस सहकार्यमार्फत एनसेल फाउन्डेसनले नेपालको समृद्ध साहित्यिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा योगदान पु¥याउँदै संवाद, सिर्जनशीलता र विश्वव्यापी सांस्कृतिक आदानप्रदानका लागि अर्थपूर्ण मञ्च निर्माण गर्न सहयोग गर्दछ ।

“एनसेल फाउन्डेसनमा हामी साहित्य र स्टोरिटेलिङले सांस्कृतिक सम्पदाको संरक्षण, सिर्जनशीलतालाई प्रेरणा तथा अर्थपूर्ण संवाद प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गर्छौं। हिमालयन लिटरेचर फेस्टिभलसँगको सहकार्यमार्फत नेपालका समृद्ध साहित्यिक संस्कृतिको उत्सव मनाउँदै स्थानीय र विश्वव्यापी सिर्जनशील आवाजहरूलाई जोड्ने यस मञ्चलाई सहयोग गर्न पाउँदा हामी गर्व महसुस गछौं,” कर्पोरेट कम्युनिकेसन्स, मार्केटिङ तथा सस्टेनेबिलिटी डाइरेक्टर विशाखा लक्ष्मी खड्काले बताइन् ।

यस महोत्सवको प्रमुख उद्देश्य उदाउँदै गरेका साहित्यिक आवाजहरूको प्रवद्र्धन पनि हो । युवा कविता मञ्चन, मार्गदर्शन कार्यक्रम, कार्यशाला तथा अन्तर्राष्ट्रिय सहकार्यमार्फत नयाँ प्रतिभाहरूलाई प्रोत्साहन गरिनेछ । शैलेन्द्र साकार, नारायण ढकाल, हरि अधिकारी, उषा शेरचन, लक्ष्मी मालीलगायत नेपाली तथा अङ्ग्रेजी भाषामा लेख्ने नेपाली कवि तथा लेखकहरू अन्तर्राष्ट्रिय साहित्यिक अतिथिहरूसँगै विशेष रूपमा प्रस्तुत हुनेछन्, जसले अन्तर्राष्ट्रिय साहित्यिक क्षेत्रमा नेपालको बढ्दो उपस्थिति थप सुदृढ गर्नेछ।

महोत्सव अन्तर्गत कवितामा–आधारित आइरिश, अस्ट्रियन, पोलिस चलचित्रहरूको प्रदर्शन गरिनुका साथै काठमाडौं दरबार स्क्वायर, पाटन दरबार स्क्वायर, बौद्धनाथ, बुढानीलकण्ठ तथा नगरकोटजस्ता सांस्कृतिक तथा प्राकृतीक सम्पदा स्थलहरूको भ्रमण पनि आयोजना गरिनेछ, जसले सहभागीहरूलाई नेपालको कलात्मक, आध्यात्मिक तथा सांस्कृतिक सम्पदासँग गहिरो रुपमा जोड्नेछ ।

संवाद, सिर्जनशीलता तथा अन्तरसांस्कृतिक समझदारीको साझा मञ्चका रूपमा स्थापित हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स’ वर्कशपले काठमाडौंलाई विश्व साहित्यिक गन्तव्य तथा विविध कलात्मक आवाजहरूको महत्वपूर्ण गन्तव्य स्थलका रूपमा अझ सुदृढ बनाउँदै आएको छ ।

पत्रकार सम्मेलनका क्रममा कवितामा आधारित दुई फिल्मका ट्रेलरहरू प्रदर्शन गरिको थियो । यसमा आयरिश कवि तथा चिन्तक डोरेन नी घ्रीफाको जीवनमा आधारित ‘क्लाउडेड रेभरिज्’ र अस्ट्रियन कवि बोडो हेल बारेमा कारोला मायरले निर्देशक गरेको ‘वाइड अवेक’ रहेको छ । त्यसैगरी, स्टीफन बुकासले बनाएको सन् २०१५ को नेपाल भूकम्पमा आधारित युयुत्सु शर्माको कवितामा आधारित फिल्म ‘आई सी माई वल्र्ड सेकिङ’ पनि प्रदर्शन गरिएको थियो ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top