क्यारिक युनाइटेडमै रहने

काठमाडौं । म्यानचेस्टर युनाइटेडले माइकल क्यारिकलाई २ वर्षे सम्झौतासहित स्थायी मुख्य प्रशिक्षकका रूपमा नियुक्त गरेको पुष्टि गरेको छ। ४४ वर्षीय क्यारिकले जनवरीमा रुबेन अमोरिम बर्खास्त भएपछि अन्तरिम प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए । त्यसपछि उनले उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई युइएफए च्याम्पियन्स लिगमा छनोट गराएका छन्।

पूर्व मिडल्सब्रो प्रशिक्षक क्यारिकले आइतबार नटिङ्घम फरेस्टविरुद्धको रोमाञ्चक जितपछि युनाइटेडलाई
प्रिमियर लिगमा तेस्रो स्थान सुनिश्चित गराएका हुन्। उनले प्रशिक्षकका रूपमा सम्हालेका १६ खेलमध्ये ११ खेल जितेका छन् । साथै, उनी प्रिमियर लिगको ‘सिजनको उत्कृष्ट प्रशिक्षक’ अवार्डका लागि अन्तिम ६ जनाको सूचीमा समेत परेका छन्।

जनवरी १३ मा क्यारिक नियुक्त भएयता युनाइटेडले ३६ अंक जोडेको छ, जुन अवधिमा कुनै पनि शीर्ष डिभिजन क्लबले यसभन्दा बढी अंक संकलन गर्न सकेको छैन। फुटबल निर्देशक जेसन विल्कक्स र प्रमुख कार्यकारी ओमार बेराडाको सिफारिसपछि सर जिम र्याट्क्लिफ र ग्लेजर परिवारले क्यारिकको स्थायी नियुक्तिलाई स्वीकृति दिएका थिए।

क्यारिकले भने, ‘२० वर्षअघि यहाँ आएदेखि मैले म्यानचेस्टर युनाइटेडको जादू महसुस गरेको थिएँ। यस्तो विशेष क्लबको नेतृत्व गर्ने जिम्मेवारी पाउँदा म अत्यन्त गर्व महसुस गरिरहेको छु।’

‘पछिल्ला पाँच महिनामा यी खेलाडीहरूले संघर्ष गर्ने क्षमता, एकता र दृढता देखाएका छन्, जुन स्तर हामी यहाँ अपेक्षा गर्छौं।’ अमोरिमको १४ महिनाको कार्यकाल अन्त्य हुँदा युनाइटेड खराब नतिजा र उनको रणनीति तथा फर्मेसनलाई लिएर क्लब अधिकारीहरूसँग बढ्दो असहमतिका कारण अस्तव्यस्त अवस्थामा पुगेको थियो।

यसअघि पनि ओले गुन्नार सोल्स्कजाएर बर्खास्त भएपछि सन् २०२१ मा क्यारिकले तीन खेलका लागि अस्थायी प्रशिक्षकको भूमिका निभाएका थिए। यसपटक भने उनले मैदानभित्र र बाहिर दुवैतर्फ प्रभावशाली काम गरेका छन्।

युनाइटेडले क्यारिकको प्रशिक्षण टोलीबारे आधिकारिक जानकारी नदिए पनि उनीहरूको सम्झौताबारे छलफल अन्तिम चरणमा पुगेको बताइएको छ। विशेषगरी पूर्व इंग्ल्यान्ड सहायक प्रशिक्षक स्टिभ हल्यान्डको अनुभवलाई महत्वपूर्ण मानिएको छ।

क्लबले विस्तृत छनोट प्रक्रिया अपनाएको जनाएको छ। केही उम्मेदवार, जसमा इंग्ल्यान्ड प्रशिक्षक थोमस टुखेल पनि थिए, आफ्ना वर्तमान सम्झौता नवीकरण गरेपछि दौडबाट बाहिरिएका थिए। तर क्लबका अनुसार गोप्य र विस्तृत प्रक्रियापछि क्यारिक नै सबैभन्दा उपयुक्त विकल्प ठहरिएका हुन्।

क्यारिकले क्लबको एकेडेमी टोलीमाथि दिएको ध्यान पनि महत्वपूर्ण कारण बनेको थियो। यसको विपरीत, अमोरिमले आफ्नो कार्यकालमा केवल एक युवा टोलीको खेल प्रत्यक्ष हेरेका थिए।

अमोरिम बर्खास्त भएपछि जेसन विल्कक्सले खेलाडीहरूलाई च्याम्पियन्स लिगमा छनोट हुने लक्ष्य दिएको बताएका थिए, जुन निकै महत्वाकांक्षी मानिएको थियो। तर क्यारिकले तीन खेल बाँकी रहँदै त्यो लक्ष्य पूरा गरे।

उनको पक्षमा म्यानचेस्टर सिटी, आर्सनल, एस्टन भिल्ला, चेल्सी र लिभरपुलविरुद्धका जितहरू पनि निर्णायक बने। पूर्व इंग्ल्यान्ड मिडफिल्डर क्यारिकले खेलाडीका रूपमा ओल्ड ट्राफर्डमा १२ वर्ष बिताएका थिए । त्यस क्रममा उनले ४ पटक प्रिमियर लिग, १ पटक च्याम्पियन्स लिग र एफए कपको उपाधि जितेका थिए।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top