के दैलेखको पेट्रोलियम उत्खनन पछि बदलिएला कर्णाली भाग्य ? 

सयपत्रिखवर 2024-05-08
img

  sayapatrikhaber.com

काठमाडौं । संघीयता आए देशका हरेक क्षेत्रमा विकास हुन्छ भन्ने भाष्य निर्माण गरियो । त्यहि अनुसार एकात्मक राज्य प्रणालीबाट अहिले देश संघीय लोकतान्त्रीक गणतन्त्रमा गएको पनि करिब करिब ७ वर्ष पुरा भयो । हरेक क्षेत्रमा दुर्गमको उदाहरण दिने हो भने सबैले कर्णाली भनेर भन्ने चलन अहिले पनि छ । कर्णाली देशका सात वटा प्रदेशमध्ये सबै भन्दा पछाडि परेको प्रदेश हो । 

यो प्रदेश विकास लगायत अधिकांश सुचकहरुमा निकै पछाडि परेको छ । संघीयता कार्यान्वयन भएको ७ वर्ष वित्ति सक्दा पनि कर्णाली प्रदेशमा अहिलेसम्म एउटा कुनै ठूलो राष्ट्रिय स्तरको उद्योग छैन । साना तथा घरेलु उद्योगहरु नै यहाँको मुख्य व्यवसाय हो । संघीयता आए पछि कर्णालीमा चार वटा मुख्यमन्त्री बनि सके । तर त्यहाँका जनताले संघीयताको खासै महसुश गर्न सकेका छैनन् । 

अहिले देशै पेट्रोलियन पदार्थको आवश्यकतालाई पूर्ति गर्ने र आर्थिक रुपमा देशलाई नै सफल बनाउने योजनाका रुपमा रहेको पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तिम चरणमा पुगेको छ । कर्णालीको मात्रै होइन देशकै विकासका लागि कोशेढुङ्गा सावित हुन दावी गरिदै आएको दैलेख जिल्लाको रहेको पेट्रोलियम पदार्थको उखनन अन्तर्गत ‘ड्रिलिङ’ को काम आइतबार देखि सुर भएको छ । संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदार भण्डारीले ड्रिलिङ गर्ने कामको आइतबार शिल्यान्यास गरे । 

पेट्रोलियम पदार्थ अन्वेषणका तीन चरणमध्ये यो ड्रिलिङको काम अन्तिम चरणको हो । यो प्रक्रियाबाट त्यहाँको जमिनमा ग्यास र पेट्रोलियम पदार्थ छ वा छैन छ भने त्यसको परिणाम पता लाग्ने छ । यो प्रक्रिया पुरा गरेपछि पेट्रोलियम पदार्थको मात्रा टुङ्गो लागे पछि मात्रै जमिनमा रहेको पेट्रोलियम पदार्थ निकालिने छ । दैलेखको भैरवी गाउँपालिका वडा नम्बर १ को जलजलेमा जग्गा अधिग्रहण गरेर काम भइरहेको छ । त्यो क्षेत्रको ४५ रोपनी जग्गाको मुआब्जा वितरण समेत गरेर काम भइरहेको छ । 

ड्रिलिङको शुभारम्भ गर्दै मन्त्री भण्डारीले यो योजना नेपालको अर्थतन्त्र सुधारको मेरुदण्ड रहेको बताए । ‘यो योजना कर्णालीको मात्रै होइन नेपाल कै अर्थतन्त्रको मेरुदण्ड हो । विश्वव्यापी इन्धन संकटले नेपालमा पर्नसक्ने असरलाई पनि यसले कम गर्छ,’ उनले भने, ‘यति महत्वको यो परियोजना सफल बनाउन कुनै पनि कसर बाँकी राख्नु हुँदैन ।’ यो परियोजना सफल बनाउनका लागि सरकार र मन्त्रालयको तर्फबाट गर्नु पर्ने सहयोग गर्न तयार रहेको प्रतिबद्धता समेत व्यक्त गरे । 

यो अयोजना सम्पन्न भएको खण्डमा इन्धनमा नेपालको पर निर्भरता समेत कम हुने विश्वास गरिएको छ । २०७२ सालमा भारतले लगाएको नाकाबन्दीका समयमा नेपालमा पेट्रोलियम पदार्थको निकै समस्या भएको थियो । ड्रिलिङको काम अबको चार महिनामा सम्पन्न हुने परियोजनाका प्रमुख दिनेश कुमार नापितले बताए । यो ड्रिलिङबाट चार हजार मिटरसम्मको गहिराइसम्म अन्तिम अन्वेषणको काम गरिने  उनले जानकारी दिए । अहिले काम गर्नका लागि अवश्यक पर्ने सामग्रीहरु आइसकेको र अन्य केही सामानहरु आउने क्रममा रहेको उनको भनाइ छ । 

सडक साँघुरो भएका कारण उपकरणहरु समयमा आयोजना स्थलमा आउन नसकेको र बीचमा कोरोनाले पनि केही समय लम्वीएको उनको भनाइ छ । साना ट्रकहरु आउनका लागि समस्या छैन । तर ठूला ट्रकहरु आउन लागि भने सडक निकै साँघुरा छन,’ उनले भने । २०७६ बाट सुरु भएको दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण परियोजनाको समया अवधि २०८१ फागुन १६ सम्मका लागि थपिएको छ । दुई वर्षअघि थपिएको समय २०८० को चैत १४ गते सकिएको थियो । सुरुमा ३ वर्षमा सक्ने गरी काम सुरु भए पनि सम्पन्न गर्न नसकिएको र दुई वर्ष समय थप गरिएको नापितले बताए । त्यो थप गरिएको समयमा पनि काम नसकिएकाले फेरि एक वर्ष समय थप गरिएको उनले सुनाए । 

ड्रिलिङको काम ४ महिनामा सक्ने योजना रहेको रहेको उनले सुनाए । विभिन्न समस्याले गर्दा समय लाग्ने भएकाले अहिले एक वर्षका लागि नै समय थप गरिएको उनको भनाइ छ । ‘काम गर्दा आवश्यक सामग्रीको अभावका कारण केही समय बढी लाग्ने अवस्था आउँछ । त्यसैले अहिले १ वर्षका लागि थप गरिएको हो,’ उनले भने ।  यो परियोजनाको लागत सुरुमा सवा २ अर्ब रुपैयाँ अनुमान गरिएको थियो । अहिले सोही अनुसार नै अन्वेषणको काम भइरहेको प्रमुख नापितले बताए । 

यसरी सुरु भएको थियो दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषणको काम  

नेपालको संविधान निमाण पछि भारतले लगाएको अघोषित नाकाबन्दी पछि नेपालमा पेट्रोलियम पदार्थको उत्खनन गर्नु पर्ने आवाज उठेको थियो । सोही अनुसार नेपालका विभिन्न स्थानमा पेट्रोलियम पदार्थको सम्भावना भएका क्षेत्रहरु खोज्न थालियो । त्यसै क्रममा दैलेख जिल्लको दुल्लु नगरपालिका र भैरवी गाउँपालिकामा वर्षौँ देखि बलिरहेका ज्वालाका विषयमा पनि सरकारले अनुसन्धान ग¥यो । 

सुरुवाती अनुसन्धाबाट त्यहाँ ग्याँस भएको अनुमान गरिएको छ । तर वास्तवमा त्यो क्षेत्रमा भएको चिज के हो भन्ने विषयमा अबको केही समय पछि जानकारी हुने छ । दैलेखको ज्वाला बलिरहेको क्षेत्रमा २०७२ मंसिरमा तत्कालीन उद्योगमन्त्री सोमप्रसाद पाण्डे सहितको चिनियाँ टोली दैलेख पुगेको थियो । नेपाल सरकारले २०७५ माघमा दैलेखको पेट्रोलियम पदार्थको विस्तृत अन्वेषण गर्न चीनलाई दिनेसम्बन्धी परियोजना स्वीकृत गरेको थियो । सोही अनुसार २०७६ मा खानी तथा भूगर्भ विभाग र चिनियाँ सरकारको जिओलोजिकल सर्वे कम्पनीबीच त्यहाँको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननका लागि दुई अर्ब ४० करोड आर्थिक तथा प्राविधिक सहयोगमा सम्झौता भयो । सोही अनुसार काम अघि बढ्दै गएर अहिले ड्रिलिङको काम सुरु भएको हो । 

२०७६ असार १६ गते तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव नेतृत्वको टोलीले दैलेखको नाभीस्थान आएर अन्वेषणको औपचारिक उद्घाटन गरेको थियो । त्यस पछि दुई चरणको काम सम्पन्न गरेर अहिले अन्तिम चरणको काम सुरु भएको हो । यो काम सकिए पछि त्यहाँ रहेको पेट्रोलियम पदार्थको परिमाण थाहा हुने छ । 

वि.स २०७६ असारबाट सुरु भएको कामले अन्तिम रुप लिएसँगै त्यहाँका स्थानीहरुले खुसी देखिएका छन् । जिल्लाको मात्रै नभएर देशकै आर्थिक विकासका लागि यसले उल्लेख्य सहयोग पुग्ने स्थानीहरु बताउँछन् । नेपालको गौरवको आयोजना भएकाले यो आयोजना सफल हुनु पर्ने भैरवी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष डम्बर बहादुर कार्कीको बताए । ‘यो आयोजना सफल भएमा हामीहरु पनि गौरव गर्न सक्ने अवस्था हुन्छ । यहाँका स्थानीले मन अमिलो बनाएर आफ्नो जमिन छोड्नु परेको छ  । इन्धन निस्केको खण्डमा सबै खुसी हुने थिए,’ उनले भने । भैरवीको मात्रै होइन दैलेख जिल्लाको मात्रै नभएर सबै नेपालीको गौरवको आयोजनाको सुरुवात भएकाले आफू निकै खुसी भएको उनले सुनाए । 

जग्गा गए पनि ठूलो परियोजना बन्ने भएकाले खुसी लागेको वडा भैरवी गाउँपालिका वडा नम्बर १ का स्थानीय कृष्ण बहादुर थापाले सुनाए । ‘मेरो आठ रोपानी जग्गा आयोजा क्षेत्रमा प¥यो । आफ्नै ठाउँमा आयोजना बन्ने भएकाले जग्गा गएको भन्दा पनि विकास हुने आशाले खुसी छु,’ उनले भने । आयोजनाले गर्दा स्थानीयले रोजगारी पनि पाइरहेको र सम्पन्न भएको खण्डमा अझ धेरै रोजगारी पाउने आशा रहेको उनले भनाइ छ । 

Related Post

Advertisement