बैंकहरुले भित्र्याए ३० अर्ब बढी विदेशी ऋण

सयपत्रिखवर 2024-04-27
img

  sayapatrikhaber.com

काठमाडौं । लगानी गर्न नसकेर अधिक तरलता खेप्नुपरेको अवस्थामा पनि बैंकहरूले ३० अर्बभन्दा बढी विदेशी ऋण भित्र्र्याएका छन । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको ९ महिनामा ११ बैंक तथा वित्तीय संस्थाले ३० अर्ब २३ करोड २० लाख २० हजार (२२ करोड ६० लाख अमेरिकी डलर) बराबरको विदेशी ऋण भित्र्याएका हुन् ।

गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाले ४६ अर्ब ७५ करोडको ऋण भित्र्याएका थिए । अघिल्लो आर्थिक वर्ष ०७८÷७९ मा १७ अर्ब ७२ करोडको ऋण ल्याएका थिए । नेपाल राष्ट्र बैंकका अनुसार अहिले बैंक तथा वित्तीय संस्थाको लगानीयोग्य पुँजी (तरलता) थुप्रिएर पाँच खर्ब ७० अर्ब पुगेको छ । बैंकहरूलाई चुक्ता पुँजीको शतप्रतिशतसम्म विदेशी ऋण ल्याउन पाउने सुविधा छ । तर, अन्तर्राष्ट्रिय बजारमा ब्याजदर महँगो रहेको अवस्थामा बैंकहरूले बढी ऋण नल्याउनु नै बुद्धिमानी हुने राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताए । उनले भने, ‘अहिले बैंकहरू आफैँ निक्षेपअनुसार कर्जा लगानी गर्न सकिरहेका छैनन् । यस्तोमा थप ऋण ल्याउने कुरा पनि आएन । त्यसबाहेक अन्तर्राष्ट्रिय बजारमा ब्याजदर अझै महँगो रहेकाले यतिवेला ऋण नल्याएकै उचित हुन्छ । भविष्यमा ब्याजदर सस्तिएको वेलामा ऋण ल्याउनु नै बुद्धिमानी हुन्छ ।’

चालू आर्थिक वर्षको नौ महिनामा तीन बैंक तथा वित्तीय संस्थाले विदेशी ऋण भित्र्याउने स्वीकृति लिएको केन्द्रीय बैंकले जानकारी दिएको छ । उनीहरूले १६ अर्ब १८ करोड ६१ लाख ७० हजारको विदेशी ऋणको स्वीकृति लिएका हुन् । आर्थिक वर्ष ०७९÷८० सम्म बैंक तथा वित्तीय संस्थाहरूले ४४ अर्ब ७० करोडको विदेशी ऋण भित्र्याउन राष्ट्र बैंकबाट स्वीकृति पाएका थिए । आर्थिक वर्ष ०७८÷७९ मा संस्थाहरूले ४० अर्ब आठ करोडको स्वीकृति लिएका थिए । एक वर्षमा बैंकहरूले स्वीकृति लिएको ऋणमा चार अर्ब ६२ करोडले (११.५ प्रतिशत) वृद्धि भएको थियो ।

कुन बैंकले कति ल्याए ऋण ?

पाँच वर्षमा नबिल बैंकले हालसम्म दुई करोड अमेरिकी डलर ऋण लिएको छ । जुन गत आर्थिक वर्षमै तिरिसकेको बैंकले जानकारी दिएको छ । हिमालयन बैंकले गत २६ जेठमा पाँच लाख डलर र ३१ जेठमा १० लाख डलर स्ट्यान्डर्ड चार्टर बैंक सिंगापुरबाट लिएको थियो । त्यस्तै, माछापुच्छ्रे बैंकले चार वर्षअघि (सन् २०२० मा) एक करोड अमेरिकी डलर र सन् २०२३ मा एक करोड ५० लाख डलर ऋण भित्र्याएको थियो ।

०७९ असारमा एभरेष्ट बैंकले दुई करोड डलरको ऋण लिएको थियो । त्यस्तै, स्ट्यान्डर्ड चार्टर्ड बैंकले पनि दुई करोड अमेरिकी डलरको ऋण ल्याएकोमा यो चुक्ता पनि गरिसकेको जानकारी दिएको छ । सानिमा बैंकले हालसम्म चार करोड ५० लाख डलर ऋण लिएको थियो । जसमध्ये तीन करोड ३० लाख डलर फिर्ता भइसकेको बैंकले जानकारी दिएको छ । चालू आर्थिक वर्षको फागुनसम्ममा एक करोड २० लाख डलर ऋण बक्यौता रहेको छ ।

०७५/७६ मा ग्लोबल आइएमई बैंकले विदेशी ऋणबापत ५१ करोड ८५ लाख पाँच हजार सात सय एक रुपैयाँ उपभोग गरेको थियो । ०७६÷७७ मा यो बढेर दुई अर्ब ९२ करोड २५ लाख पाँच हजार सात सय एक पुगेको थियो । ०७७÷७८ मा दुई अर्ब ८८ करोड सात लाख ६५ हजार चार सय ७३ कायम भएको थियो । त्यसपछि ०७८÷७९ मा ६ अर्ब २१ करोड १७ लाख ८५ हजार १७ रुपैयाँ पुगेको थियो । गत आर्थिक वर्षसम्म तीन अर्ब ७२ करोड पाँच लाख ४४ हजार सात सय ८९ पुगेको यस्तो ऋण चालू आर्थिक वर्षमा ह्वात्तै बढेको छ । फागुन मसान्तसम्म बैंकको विदेशी ऋण ११ अर्ब ७९ करोड ३३ लाख ६४ हजार तीन सय ३३ रुपैयाँ कायम भएको छ । पाँच वर्षको औसत विनिमय दरअनुसार नौ करोड ५३ लाख २३ हजार २२ डलर हो ।

त्यस्तै, लक्ष्मी सन्राइजले ०७८ असारसम्म तीन करोड डलर ऋण भित्र्याएको थियो । ०७९ असारसम्म ६ करोड २४ लाख डलर र गत असार मसान्तसम्म यस्तो ऋण तीन करोड ८६ लाख ५० हजार डलर कायम भएको थियो । फागुन मसान्तसम्म आइपुग्दा बैंकले तीन करोड ३३ लाख २० हजार डलर ऋण भित्र्याएको बैंकले जानकारी दिएको छ ।

प्राइम कमर्सियल बैंकले पनि हालसम्म दुई करोड डलर ऋण भित्र्याएको जनाएको छ । त्यस्तै, सिद्धार्थ बैंकले कुल विदेशी ऋण रकम ६ करोड ३० लाख डलर लिएकोमा ८० लाख डलर भुक्तानी गरिसकेको छ । त्यसबाहेक पाँच करोड ५० लाख डलर बक्यौता रहेको बैंकले जानकारी दिएको छ ।

कुमारी बैंकले हालसम्म लिएको कुल विदेशी ऋण तीन करोड डलर हाराहारी कायम रहेको जानकारी दिएको छ । नेपाल एसबिआई बैंकले ०७९ सालको १ चैतमा तीन करोड डलर ऋण ल्याएको थियो । त्यसमध्ये एक करोड डलर मात्रै बाँकी रहेको र बाँकी ऋण गत १ चैतमा चुक्ता गरिसकेको बैंकले जनाएको छ । एनआइसी एसिया, एनएमबि बैंक र इन्भेष्टमेन्ट मेगा बैंकले विदेशबाट ल्याएको ऋणको तथ्यांक उपलब्ध गराएनन् । सिटिजन इन्टरनेसनल बैंक, नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकले विदेशबाट ऋण लिएका छैनन् ।
 

Related Post

Advertisement