हलेसीमा चिस्यान केन्द्रसहितको कृषि मार्ट सञ्चालनमा

सयपत्रिखवर 2024-03-05
img

  sayapatrikhaber.com

काठमाडौं । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले वडा नं ७ महादेवस्थानमा चिस्यान केन्द्र सहितको कृषि मार्ट सञ्चालनमा आएको छ । जिल्लाको त्रिधार्मिकस्थल हलेसी बजारमा कृषि मार्ट (बजार) सञ्चालनमा ल्याइएको हो । 

कृषकले उत्पादन गरेका कृषिउपज बजारीकरणका लागि नगरपालिकाले आइतबारदेखि औपचारिकरुपमा चिस्यान केन्द्रसहितको कृषि मार्ट सञ्चालनमा आएको हो । सहज नेपाल नामक संस्थाको प्राविधिक सहयोगमा निर्माण गरिएको भवन निजी संस्थालाई भाडामा दिएर कृषि मार्ट सञ्चालन गरिएको छ । 

गत आर्थिक वर्षमा विनियोजित १८ लाख ४४ हजार रुपैयाँ र चालु आव २०८०/८१ मा विनियोजन गरिएको १९ लाख ९४ हजार ८३१ रुपैयाँ लगानीमा कृषि मार्ट र चिस्यान केन्द्र निर्माण गरिएको नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ का वडाध्यक्ष कमल गिरीले जानकारी दिए । यससँगै नगरपालिका भित्रका कृषकले उत्पादन गरेका कृषिउपज कृषि मार्टमा लगेर बिक्री गर्नेछन् ।

केही दिनअघि नगरपालिकाले नगरपालिकाभित्रका कृषक र होटल व्यवसायीसँग छलफल गरेर तरकारीको मूल्यसमेत निर्धारण गरेको थियो । सोही मूल्यअनुसार कृषकले उत्पादन गरेको कृषिउपज मार्टमा बिक्री हुने बताइएको छ । कृषकले उत्पादन गरेर ल्याएका कृषिउपज संकलन गरेर बिक्री गर्नसमेत सुरु गरिएको छ । कृषकले आलु, साग, धनियाँ, कोभी, मुलालगायत तरकारी बिक्री गर्न कृषि मार्टमा ल्याएका थिए । 

Related Post

Advertisement