sayapatrikhaber.com
काठमाडौं । कुचो नहुन सायद घर नहोला । सहर होस वा गाउँमा कुचो अतिनै आवश्यक वस्तु हो । यसको कच्चा पदार्थ मुख्य गरि अम्लिसो हो । बिहान उठेपछि कुचो लगाउनु पर्ने हाम्रो संस्कार नै हो । हाम्रो संस्कारको रुपमानै रहेको कुचोको व्यपार र आत्मनिर्भताको अवस्थाका विषयमा नेपाल कुचो संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजकुमार कार्कीसँग गरिएको सयपत्री खबरका महेन्द्र शाहीले गरेको कुराकानीको सम्पादित अंश :
नेपालका कुचो व्यवसायको अवस्था के छ ?
अहिलेको अवस्थाको कुरा गर्दा नेपालमा कुचोको व्यवसाय राम्रो नै छ । हामीहरुले देशलाई पुग्ने कुचो मात्रै उत्पादन गरेको छैनौ विदेश पनि निर्यात गरिरहेका छौँ । यसरी हेर्दा हामीलाई बजारको अभाव पनि छैन ।
तर अवस्था यहि रहेको भने हामीलाई पनि समस्या हुने निश्चित रहेको छ । अहिले हाम्रो मुख्य बजार भनेको भारत मात्रै हो । अन्य मुलुमा निर्यात गर्नका लागि बढी कर लाग्छ । जसले गर्दा व्यवसायीहरुले अन्य मूलुक पठाउन सकेको अवस्था छैन । केही मात्रामा बंगलादेश र चिन तिर निर्यात हुने गरेको छ । तर त्यो निकै कम मात्रामा रहेको छ ।
कुचोको माग विशेष गरेर कुन समयमा बढी हुन्छ ?
कुचोको माग सदाबाहर जस्तै हो । यसका लागि खास सिजन त छैन । तर विशेष गरेर दिपावलीको समयमा कुचोको माग बढी हुन्छ । यो समयमा कुचोको आन्तरिक खपत बढी हुने गरेको छ । यो वर्षको दिपावलीको समयमा अघिल्लो वर्षको तुलनामा बढी नै कुचो बिक्री भएको छ । यो वर्ष अघिल्लो वर्षको तुलनामा कुचोको उत्पादन पनि बढी भएको थियो ।
कुचोको उत्पादन अघिल्लो वर्षको भन्दा बढी भएकाले बाहिर निकासी पनि अलि धेरै भयो । तर अघिल्लो वर्षको तुलनामा कुचोको मूल्यमा भने केही कमी आएको छ । हामीले भारत तर्फ पनि निकासी गरेका छौँ । तर कुचोको उत्पादन भारतमा पनि धेरै नै भएका कारणले मूल्यमा असर परेको अवस्था छ ।
हाम्रो मुख्य बजार भारत नै हो । अहिले कुचोको खपत नै नभएको अवस्था भने होइन तर सबै भारत नै गयो तर कम मूल्यमा निर्यात गर्नु प¥यो । त्यहाँ उत्पादन बढ्दा मूल्यमा गिरावट आउने नै भयो । हामीले अन्य देशमा निर्यात गर्ने तर्फ पनि सोचि रहेका छौँ । यस विषयमा सरकारले पनि सहयोग गर्नु पर्ने आवश्यकता छ ।
भारतमा उत्पादन बढ्दा हामीलाई अन्य देशसँग बजार विस्तार गर्न नसकेका कारणले भविष्यमा यसको बजारको लागि खतार हुने देखिन्छ । भातरले किसानलाई धेरै मात्रामा अनुदान दिएको छ । जसले गर्दा उत्पादन बढी छ । यसले हामीलाई भविष्यमा प्रतिस्पर्धा गर्न समस्या हुने देखिन्छ । यस तर्फ राज्यले बेलैमा सोच्नु पर्ने अवस्था छ । यदि राज्यले बजारको व्यवस्थापन गर्न सकेको खण्डमा विदेशी मुद्रा आर्जन गर्ने राम्रो स्रोत बन्न सक्छ ।
तपाईले भने अनुसार नेपालबाट कुचो निर्यात भइरहेको छ । यो भनेको हामी कुचो विदेशबाट ल्याउदैनौ हो ?
हामी अम्लिसोको कुचोमा पुरै रुपमा आत्मनिर्भर रहेको अवस्था छ । हामी आत्मनिर्भर भएर नै कुचोको निकासी गर्न सकेका हौँ । हामी वार्षिक रुपमा १ अर्ब भन्दा बढीको कुचो निर्यात गर्छौँ । तर जुन रुपमा हामीले प्रयोग गर्ने खरेटो कुचोमा भने हामी आत्मनिर्भर बन्न सकेका छैनौँ ।
अम्लिसो हाम्रोमा उत्पादन हुने भएकाले यसमा हामी आत्मनिर्भर भएको अवस्था छ । खरेटो कुचो बनाउनका लागि नरिवलको सिन्का र पामआयलको सिन्का प्रयोग गर्नु पर्ने कारणले गर्दा हामी यसमा पर निर्भर रहेको अवस्था छ । खरेटोको रुपमा प्रयोग हुने कुचोको लागि आवश्य पर्ने सिन्का हामीले इन्डोनेसियाबाट आयात गर्नु पर्ने अवस्था छ । त्यसलाई पनि कुचो नै भनिन्छ ।
तर अम्लिसोको कुचो र त्यसको प्रयोग फरक–फरक छ । अम्लिसोको कुचोले हामी घर भित्र बडार्ने काम गर्छौँ भने खरेटोले घर बाहिर बडार्ने काम हुन्छ । खरेटो बनाउनका लागि नरिवलको सिन्का र पामओयलको सिन्का प्रयोग हुन्छ । नेपालमा नरिवलको खेती कम हुने भएकाले र पामआयलको खेती नेपालमा नहुने कारणले गर्दा हामीलाई समस्या भएको हो ।
बाँस र थाकलको सिन्काबाट खरेटो बनाउन सक्ने भए पनि त्यो थाकलको उत्पादन निकै कम र बाँसको सिन्का बनाउन बढी खर्चिलो हुन्छ । इन्डोनेसियाको सिन्का सहजै आइरहेको अवस्थामा यसको प्रयाग भएको छ । यदि नरिवल खेती गर्न सकेको खण्डमा हामीले त्यो सिन्काको आयातलाई रोक्न सक्छौँ । यसले दोहोरो फाइदा हुन्छ । एकातर्फ नरिवलको तेल बनाउने लगायत काममा प्रयोग हुने भयो भने अर्को तर्फ खरेटो बनाउन सकिने भयो ।
वार्षिक कति मूल्य बराबरको कुचोको व्यापार हुन्छ ?
हामीले विदेशमा कुचो निर्यात गर्दछौँ । तर मुख्य बजार भने भारत नै हो । अन्य देशहरुको कुरा गर्दा हामीले केही मात्रामा बंगलादेश र चिनको तिब्बतमा निर्यात गर्ने गरेका छौँ । तर त्यो निकै कम मात्रामा छ । अन्यथा हाम्रो कुचोको बजार भनेको आन्तरिक बजारसँग भारतीय बजार नै हो ।
अन्य देशमा कर बढी भएकाले हामीले निकासी गर्न सक्ने अवस्था नै छैन । हामीले ५१ प्रतिशत कर तिरेर पनि बंगलादेश पठाइएको छ । कहिले कसो तिब्बतबाट पनि माग हुने भएकाले मुठो भएको कुचो त्यहाँ पनि पठाउने गरिएको छ । तर हाम्रो मुख्य बजार भनेको भारत नै हो र प्रतिस्पर्धी पनि भारत नै हो । भारतले उत्पादन बढाएकाले हामीलाई केही असर त पर्छ नै । बिक्री नै नहुने अवस्था छ नहोला तर मूल्य कम हुने अवस्था हुन्छ ।
कुचो बनाउनका लागि प्रयोग हुने अम्लिसोमा नेपालका करिब १ लाख परिवार प्रत्यक्ष र परोक्ष रुपमा संलग्न रहेका छन् । यसमा पनि कसैले अलि धेरै मात्रामा व्यवसायी खेती गरेको अवस्था छ भने कतिले पशुहरुका लागि घाँसको रुपमा पनि खेती गरेका छन् । तर पछिल्लो समय विदेश जानेको संख्यामा वृद्धि भएका कारण अम्लिसोको उत्पादमा कमी आउने देखिएको छ । जनशक्ति विदेश गए पछि उत्पादनमा ह्रास आउने कुरा कुचोमा मात्रै नभएर सबै व्यवसायमा हुने कुरा हो ।
कुचोको कच्चा पदार्थ के हो ? यसबाट फाइदा लिनका लागि के गर्नु पर्छ ?
कुचोको कच्चा पदार्थ मुख्य गरि अम्लिसो नै हो । यसको कुनै विकल्प छैन । कुचो अरुको निस्कदैन । खरेटो बनाउने विषयमा भने अरु पनि प्रयोग हुन सक्छन् । नेपालमा अम्लिसोको कुचो नै प्रयोग हुन्छ । केही पहिले प्लास्टिकको कुचो पनि प्रयोगमा आएको थियो । तर अहिले त्यसको प्रयोग भएको छैन ।
हामीले अम्लिसो लगाउनका लागि किसानहरुलाई आग्रह समेत गरेका छौँ । यसबाट धेरै फाइदा रहेको छ । पशु पालनका लागि पनि यो निकै राम्रो घाँसको स्रोत हो । अम्लिसोले भुक्षयलाई रोक्नका लागि महत्वपूर्ण भूमिका खेल्छ । अम्लिसो सुख्खा क्षेत्रमा समेत हुने भएकाले यसले पशुपालनमा पनि निकै ठूलो योगदान गर्न सक्छ । बाहिर रुपमा बडार्ने कुचो बनाउनका लागि भने हामीले बाँसको सिन्कालाई कच्चा पदार्थका रुपमा प्रयाग गर्न सक्छौँ । त्यस बाहेक पनि हामीले नरिवल खेती गर्न सकियो भने पनि त्यसको सिन्काको कुच्चो बन्न सक्छ । नरिवल खेती गर्दा दोहोरो फाइदा लिन सकिन्छ । यसका लागि तराइका क्षेत्रमा हामीले नरिवल खेती गर्न सक्छौँ ।