नागढुंगा सुरुङ निर्माणमा ढिलाइ

सयपत्रिखवर 2024-03-25
img

  sayapatrikhabar.com

नागढुंगामा निर्माणाधीन सुरुङमार्ग निर्माणमा ढिलाइ भएको छ । राजधानीसँग जोडिएको मुख्य सडक पृथ्वी राजमार्गमा पर्ने नागढुंगामा निर्माणाधिन सुरुङमार्ग निर्माणमा ढिलाइ भएको हो ।

परियोजनाका निमित्त आयोजना प्रमुख गोविन्द डुमारुका अनुसार जापानको हाज्मा आन्दो कर्पोरेसनले आयोजना निर्माण गरिरहेको छ । कुल लम्बाइ २ दशमलव ६८ किलोमिटर र ३ दशमलव ५ मिटर चौडाइ रहेको दुई लेनको सुरुङ सडक हुने गरी आयोजनाको काम भइरहेको छ । शुरु सम्झौताअनुसार ०८० वैशाखमा निर्माण सम्पन्न गरिसक्नुपर्नेमा उक्त समयभित्र काम नसकिएपछि ०८१ वैशाख १३ सम्म म्याद थपिएको छ ।

२ हजार ५ सय ५७ मिटर लामो रेस्क्यु टनेल छ । जसको ७ अगस्ट २०२३ का दिन ‘ब्रेक थु’ भएको थियो । नागढुंगा सुरुङको मुख्य टनेल २ हजार ६ सय ८८ मिटर लामो छ । स्थानीयले सुरुङ ‘ब्रेक थु’ गर्ने भनी तोकिएको मितिभन्दा केही अगाडि अर्थात् ६ फागुनदेखि धादिङ र काठमाडौं दुवैतर्फको काम रोकेका थिए ।

यो आयोजनातर्फ ९५ प्रतिशत जग्गाको मुआब्जा वितरण र स्थानीयबासीसँगको विवाद समाधान भइसकेको छ । आयोजना निर्माणका बेला केही घरमा दरार देखिएपछि स्थानीयसँग बेला बेला विवाद उठ्ने गरेको छ । सुरुङ बाहेक फ्लाइओभर, पुल, बक्स कल्भर्ट, अन्डरपास र ओभरपाससमेत कुल १२ वटा थप संरचना बनिरहेको बताइएको छ । यी संरचनाको काम सकी पूर्णता दिन अर्को एक वर्ष लाग्ने भएको हो ।

‘ब्रेक थु’ भएको एक वर्षपछि यो सुरुङ व्यावसायिक सञ्चालनमा ल्याउने योजना छ । आयोजना अन्तर्गतका सबै काम सम्पन्न गरी सञ्चालनमा ल्याउन अर्को एक वर्ष लाग्ने अनुमान आयोजनाको छ । परियोजनाका निमित्त आयोजना प्रमुख गोविन्द डुमारुका अनुसार अन्तिम समयमा काम रोकिएका कारण निर्माण साइटमा कामदार आउने र पुनः काम थाल्दा अझै केही समय लाग्ने छ । ‘पुनः काम सुरु भएको छ,’ उनी भन्छन्, ‘तर, पहिलाकै रफ्तारमा जान सकेको छैन, यसले ‘ब्रेक थ्रु’ को पनि समय पर धकेलेको छ ।’

यो आयोजनाको अध्ययन सन् २०१४ मा भएको हो । २०१६ मा स्रोत सुनिश्चित भएपछि २०१७ मा डिजाइनको काम सुरु भएको थियो । जापानी ठेकेदार कम्पनी हाजमा–आन्दो जेभीले यस आयोजनामा काम गरिरहेको छ । यो कम्पनी कोटेश्वर–सूर्यविनायक खण्ड विस्तार तथा बिपी राजमार्ग निर्माणमा समेत सफल भएको थियो ।

नागढुंगा सुरुङमार्ग डिजाइन जापान सरकारको सहयोगमा भएको हो । करबाहेक साढे १३ अर्ब रुपैयाँमा आयोजनाको ठेक्का लागेको हो । यो सुरुङमार्गलाई त्रिभुवन राजपथसँग जोड्न २।८७ किलोमिटर पहुँचमार्ग समेत बनिरहेको छ । सुरुङसम्म पहुँचमार्गका लागि गुर्जुधारा चोक र सुरुङको मुख नजिकै फ्लाइओभर समेत सँगै बनिरहेका छन् । गुर्जुधाराको फ्लाइओभर ६ सय १० मिटर लामो हुँदैछ । सुरुङमार्ग र पहुँचमार्ग समेत गरी कुल लागत भने २२ अर्बभन्दा माथिको हो । नौबिसेदेखि थानकोटसम्मको घुमाउरो र भिरालो सडकका कारण हुने ट्राफिक जाम हटाउने उद्देश्यले सुरुङमार्ग निर्माण थालिएको हो ।

नेपालमा व्यावसायिक सञ्चालनमा आउने यो नै पहिलो सुरुङमार्ग समेत हुनेछ । यो सुरुङमा मोटरसाइकल र अतिप्रज्ज्वलनशील पदार्थ बोकेर हिँड्ने सवारीसाधनले प्रवेश अनुमति पाउने छैनन् । अन्य सवारीसाधन भने धादिङ नौबिसेबाट सुरुङमार्ग हुँदै काठमाडौं प्रवेश गर्न सक्नेछन् ।

Related Post

Advertisement