हेइटीकाे जेलबाट झन्डै चार हजार कैदी बन्दीलाई भगाइयो

सयपत्रिखवर 2024-03-04
img

काठमाडौं । सशस्त्र समूहहरूले हेइटीको राजधानी पोर्ट–अ–प्रिन्सस्थित प्रमुख जेलमाथि आक्रमण गरी थुप्रै कैदीलाई भगाइएको छ । एकजना स्थानीय पत्रकारले बीबीसीलाई बताएअनुसार जेलमा राखिएका करिब चार हजार व्यक्तिमध्ये अधिकांशलाई भगाइएको हो ।

जेलबाट भगाइएकामध्ये सन् २०२१ मा तत्कालीन राष्ट्रपति जोभनेल मोइजको हत्यामा संलग्न रहेको अभियोगमा दोषी ठहर भई सजाय काटिरहेका व्यक्तिहरू पनि रहेका छन् । अमेरिकी देशमध्ये निकै विपन्न हेइटीमा पछिल्ला वर्षमा हिंसा बढ्दै गएको छ ।

प्रधानमन्त्री एरिअल हेनरीलाई पदबाट मुक्त गर्न चाहिरहेका समूहहरूले राजधानीको ८० प्रतिशत हिस्सामाथि नियन्त्रण कायम गरेका छन् । पछिल्लो हिंसामा बिहीवारबाट वृद्धि भएको छ जब नैरोबी भ्रमणका क्रममा प्रधानमन्त्रीले केन्याली नेतृत्वको बहुराष्ट्रिय सुरक्षा फौज हेइटीमा परिचालन गर्नुपर्ने विषयमा छलफल गरे ।

बार्बीक्यू उपनामले पनि चिनिने सशस्त्र समूहका नेता जिमी सेरेजिअरले प्रधानमन्त्रीलाई पद च्युत गर्नका लागि सङ्गठित हमला गरिने घोषणा गरेका छन् । ‘प्रान्तीय नगरहरू र राजधानीमा सक्रिय रहेका हामी सबै सशस्त्र समूहहरू एकढिक्का भएका छौँ,’ पूर्वप्रहरी अधिकारीसमेत रहेका उनले भने ।

राजधानी पोर्ट–अ–प्रिन्समा गराइएका थुप्रै नरसंहारमा उनको संलग्नता रहेको ठानिन्छ । गोली हानाहानका घटनामा चार प्रहरी अधिकारी मारिएका छन् भने पाँचजना घाइते भएका छन् । हेइटीस्थित फ्रेन्च राजदूतावासले राजधानी र आसपासका क्षेत्रमा यात्रा नगर्न आफ्ना नागरिकलाई अनुरोध गरेको छ ।

हेइटीको प्रहरीले जेलको सुरक्षा बढाउनका लागि सघाउन सेनालाई आग्रह गरेको पृष्ठभूमिमा शनिवार अबेर राति कारागार परिसरमाथि सशस्त्र समूहहरूले धावा बोले । समाचार संस्था रोयटर्सका अनुसार आइतवार जेलका ढोकाहरू खुलै देखिए र त्यहाँ सुरक्षाकर्मी रहेको कुनै सङ्केत पाइएन । विवरणमा जनाइएअनुसार भाग्ने क्रममा तीनजना कैदीको ज्यान गएको पाइएको छ ।

राष्ट्रपति मोइजको हत्या अभियोगमा सजाय काटिरहेका पूर्वकोलम्बियाली सैनिकहरूसहित ९९ जना गोली हानाहानमा मारिन सक्ने आशङ्कामा नभागेको एक स्वयंसेवकले रोयर्टसका पत्रकारहरूलाई बताए ।

मोइजको हत्यापश्चात् हेइटीमा हिंसा बढ्दै गएको छ। उनको रिक्त स्थान पूर्ति भएको छैन र सन् २०१६ यता चुनावसमेत भएको छैन । एउटा राजनीतिक सहमति अनुसार चुनाव हुने र फेब्रुअरी ७ सम्म प्रधानमन्त्री हेनरीले पद छोड्नुपर्ने कुरा थियो। तर त्यो भएन। हेनरी निर्वाचित प्रधानमन्त्री होइनन् ।

संयुक्त राष्ट्रसङ्घले ज्यानुअरीमा बताएअनुसार गत वर्ष हेइटीको हिंसाबाट ८,४०० जनाभन्दा बढी व्यक्ति पीडित भएका थिए । त्यसमा मृत्यु, घाइते र अपहरण लगायतका घटना थिए। उक्त सङ्ख्या सन् २०२२ को तुलनामा दोबरले बढी हो । बिबिसी 
 

Related Post

Advertisement