जब चालक नभएको रेल ७० किमि कुद्‌यो...

सयपत्रिखवर 2024-02-27
img

  sayapatrikhaber.com

काठमाडौं । भारतमा एउटा मालवाहक रेल बिनाचालक ७० किलोमिटर गुडेपछि भारतीय रेल सेवाले छानबिन गर्न आदेश दिएको अधिकारीहरूले बताएका छन् । सामाजिक सञ्जालमा प्रेषित भिडिओहरूमा उक्त रेल तीव्र गतिमा विभिन्न स्टेशन हुँदै गुडेको देखिन्छ ।

उक्त रेल आइतवार जम्मु तथा कश्मीरको कठुआबाट पन्जाबको होशियारपुर जिल्लासम्म बिनाचालक कुदेको बताइएको छ । भारतीय रेल सेवाका अनुसार पछि त्यो रेललाई रोकियो । उक्त घटनाक्रममा कोही पनि घाइते भएनन् । समाचारसंस्था प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई) का अनुसार उक्त घटना बिहान ७ः२५ देखि ९ः०० बजेसम्म भएको अधिकारीहरूले बताएका छन् ।

कसरी भयो घटना

त्रिपन्नवटा डब्बा भएको उक्त रेल जम्मुबाट चिप पत्थर लिएर पन्जाबका लागि हिँडेको थियो । चालकदल फेर्न कठुआमा रोकिएको बेला अकस्मात् उक्त घटना भएको हो ।

अधिकारीहरूका अनुसार जम्मुबाट चलाएर ल्याएका चालक र उनका सहायक ओर्लिएपछि उक्त रेल रोकिएको ठाउँमा पटरीमा ओरालोतिर गुडेको थियो । रेल बिनाचालक झन्डै १०० किमि प्रतिघण्टाको गतिमा कुदेको थियो । रोकिनुअघि उक्त रेलले पाँचवटा स्टेशन पार गरेको थियो ।

उक्त अनियन्त्रित रेलबारे सूचना पाउनासाथ अधिकारीहरूले दुर्घटना हुन नदिन रेलमार्गमा पर्ने सबै क्रसिङ बन्द गरिदिएका थिए । ‘रेलवेका एक कर्मचारीले पटरीमा काठका मुढाहरू राखेर उक्त रेललाई रोके,’ अधिकारीहरूलाई उद्धृत गर्दै पीटीआईले जनाएको छ ।

काठका मुढाले रेलको गति घटाउन सघाएका थिए । अधिकारीहरूका अनुसार रोकिएको रेल कसरी गुड्यो भन्ने वास्तविक कारण पत्ता लगाउने प्रयास भइरहेको छ । कारण पत्ता लागे भविष्यमा त्यस प्रकारको घटना रोक्न सकिने उनीहरूको अपेक्षा छ । एजेन्सी 
 

Related Post

Advertisement