Sayapatrikhabar
नेपाल विद्यार्थी संघ (नेविसंघ) महाधिवेशनको संघारमा छ । समय थोरै छ, यद्यपि तल्ला निकायमा महाधिवेशनको कुनै चहलपहल छैन । पार्टीले उमेरहदसहितको विधान र नियमावली तयार गरेको छ । नेविसंघमा उमेरहद लागेपछि विद्यार्थीमाझ नेतृत्व लिने एक्सर साइज सुरु भएको छ । उपत्यकाबाट अत्यधिक मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित एलिजा ढकाल महामन्त्रीको तयारी गर्दैछिन् । नेविसंघको महाधिवेश, उमेरहदबारे ढकालसँग गरेको कुराकानी ः
० तपाईं उमेरहदको पक्ष वा विपक्ष केमा ?
– पक्ष विपक्षको कुरा होइन, नेपाल विद्यार्थी संघमा उमेरहद अपरिहार्य भइसकेको थियो । राजनीतिमा उमेरहद वैज्ञानिक होइन, यद्यपि संगठनमा वास्तविक विद्यार्थीको प्रतिनिधित्व गराउन पनि उमेरहद चाहिएकै थियो ।
० अहिले नेतृत्वमा रहेका विद्यार्थी होइनन् र ?
– मैले त्यसो भन्न खोजेको होइन, लामो समयदेखि नेविसंघको अधिवेशन भएन, नेतृत्व जाममा प¥यो । अघिल्लो चरणमा जाने बाटो अवरोध थियो । राजनीतिमार्फत सेवा गर्न चाहनेहरू विद्यार्थी नै बन्नु परिरहेको अवस्था थियो ।
० अहिलेको कार्यसमितिमा रहेका पार्टी राजनीतिका लागि मात्र हुन् त ?
– हो, पढ्नका लागि भन्दा पनि राजनीति गर्न कलेज कुरेर बस्ने धेरै भए, जसले गर्दा पढ्न नभई राजनीति गर्ने थलो बन्यो शैक्षिक संस्थाहरू ।
० उहाँहरूलाई त्यत्तिकै बिदा दिने ?
– होइन, उहाँहरूको पनि मूल्यांकन हुनुपर्छ । पार्टीको अरु भ्रातृसंस्थाहरू छन्, उहाँहरूको योग्यता र क्षमताअनुसार पार्टीले स्थान दिनुपर्छ । उहाँहरूले जीवनको स्वर्णकाल विद्यार्थी राजनीतिमा बिताउनुभएको छ ।
० कांगे्रसमा सम्भव छ ?
– सम्भव छैन भने पनि सम्भव गराउनुपर्छ । नेविसंघमा उमेरहद लाग्दा पार्टीमा पनि उमेरहदको चर्चा हुनुपर्छ । गणतन्त्रका लागि ढुंगा हान्ने गगन थापाको पुस्ता आजसम्म पनि नेविसंघमा हुँदा नयाँ पुस्ता कसरी आउँछ ? पुरानो पुस्ताले नयाँ पुस्ताको भावना नै बुझ्दैन ।
० नेतृत्व जाम भइराखे पार्टीलाई कस्तो असर पुग्छ ?
– यसले नेतृत्वप्रति आमविद्यार्थीलाई राजनीतिप्रति वितृष्णा पैदा गर्छ । तर नेविसंघ आमविद्यार्थीको आकर्षणको केन्द्र बन्नुपर्छ । नेविसंघ ५० कटेका मान्छेहरूको संगठन हो भन्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ ।
० पार्टीले राम्रो निर्णय गरेछ, होइन ?
– पार्टीले के सोचेर यो निर्णय ग¥यो, त्यो पार्टीलाई नै थाहा होला, तर यो अवस्थामा उमेर हदबन्दी अपरिहार्य थियो भन्ने मेरो निष्कर्ष हो ।
० यसको विरोध गर्नेहरू पनि छन् नि ?
– हुनुहुन्छ, धेरै समय यो संगठनमा आबद्ध भएर लाग्नुभएकाहरूले पार्टीमा ठाउँ पाउनु भएन, त्यसैले विरोध भयो । पद नै नपाइ छोड्नुपरेको पीडा पनि छ नि ।
० पदकै लागि राजनीति गर्नुपर्ने रहेछ ?
– पदका लागि होइन, कामका लागि हो राजनीति । काम चाहिँ बाहिरभन्दा भित्र बसेर गर्न सकिन्छ ।
० अहिलेसम्म के गर्नुभयो ?
– नेविसंघभित्र धेरै गुटबन्दी थियो, व्यक्तिगत रूपमा मैले मेरो ठाउँबाट केही पनि गर्न सकिन । एकजनाले गर्न सक्ने धेरै काम मैले गरें, तर परिणाम आउने गरी मैले केही गर्न सकिनँ । धेरै गर्ने भनेको अध्यक्ष र महामन्त्रीले हो, केन्द्रीय सदस्यले केही गर्न सक्ने अवस्था पनि भएन ।
० नेविसंघले कामभन्दा पनि नाटक बढी देखायो होइन ?
– नाटक होइन, ताली बजाउने काम भयो ।
० ताली बजाउँदा खुसी हुनुभयो ?
– खुसी छैन, पीडा हुन्छ ।
० गुटबन्दी किन गर्नुभयो ?
– मान्छेहरूले व्यक्तिगत इस्युमा राजनीति गर्न थाले । व्यक्तिका पछाडि लाग्ने मान्छेहरू धेरै भए, त्यही भएर गुटबन्दी भयो ।
० हुनुपर्ने के थियो ?
– गुटबन्दी अलिअलि हुनुपथ्र्यो, तर चरम भयो । नेविसंघभित्र आन्तरिक प्रतिस्पर्धाका लागि पनि गुट चाहिन्छ । कसले बढी काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपथ्र्यो, तर नेविसंघभित्र यसले राम्रो काम ग¥यो, यसको खुट्टा तान्नुपर्छ भन्ने प्रवृत्ति मौलायो ।
० अध्यक्षको मूल्यांकन कसरी गर्नुहुन्छ ?
– उहाँले काम गर्न खोज्नु नै भएन । उहाँले काम गर्न खोज्दा पनि अरुले असहयोग गरेको देखियो । अध्यक्ष एक्लैले चाहेर मात्र केही हुँदैन थियो ।
० कसले राम्रो काम ग-यो ?
– कसैले राम्रो काम गरेन । सबै आफ्नो गुट बलियो बनाउन मात्र लागे ।
० महामन्त्रीको मूल्यांकन ?
– उहाँलाई पनि म केही भन्दिन, किनभने अध्यक्षले पनि महामन्त्रीको भावना बुझेर काम गर्नुभएन । संगठन ध्वस्त बनाउन अध्यक्ष र महामन्त्री बराबर जिम्मेवार देखिए । संगठन बलियो बनाउन हामी उदाहरण बन्नुपथ्र्यो, तर गुटबन्दी गरेर संगठन ध्वस्त बनाउनेतिर लागियो ।
० नेविसंघ अब कता जान्छ ?
– दुई महिना म्याद थपिएको छ, नयाँ विधान र नियमावली पनि आइसकेको छ । त्यही विधान र नियमावलीअनुसार अधिवेशन हुनुपर्छ । सबैले आफ्नो गल्ती महसुस गरेका छन् जस्तो लाग्छ । अब नेविसंघ निसंकोच अघि जान्छ भन्ने लागेको छ ।
० दुई महिनामा अधिवेशन हुन्छ ?
– अधिवेशनको प्रोसेस चल्दै गयो भने म्याद थपिन पनि सक्छ । तर महाधिवेशन गराउने नियत हुनुपर्छ । महाधिवेशन हुन्छ जस्तो लाग्छ ।
० कसरी ?
– पदाधिकारी बैठक भइरहेको छ, पार्टीबाट पनि सर्कुलर भइरहेको छ । नेताहरू पनि महाधिवेशन नै गराउनुपर्छ भनेर लागिराख्नुभएको छ ।
० तल्लो तहमा अधिवेशन भएको छैन त ?
– केही भएको छैन, तर पदाधिकारी बैठकले तदारुकता देखाइरहेको छ । पार्टीले विधान र नियमावली दिएपछि प्रक्रिया अघि बढ्छ ।
० अधिवेशन नभएर नाम टाँसियो भने ?
– अधिवेशन भएन भने नेविसंघ भनेर लागेका तामाम विद्यार्थीको मनोभावनामा घात हुन्छ । लोकतन्त्रमा चुनाव लडेर हार्न पनि पाउनुपर्छ । हामी आफूलाई लोकतन्त्रको हिमायती ठान्छौं, तर पार्टीभित्र आन्तरिक लोकतन्त्रको अभ्यास नगर्ने भन्ने पनि हुन्छ ?
० नेविसंघले देखाएर र लोकतन्त्रको अभ्यास ?
– नेविसंघले देखाएको छैन, नेविसंघ छुट्टै गरिमा भएको संगठन हो । नेविसंघभित्र व्यक्तिगत स्वार्थ भएका र नेताको इन्ट्रेस्टमा चल्ने मान्छेहरू उहाँहरूको चरित्र मात्र हो । उहाँहरूको चरित्रलाई देखाएर सिंगो नेविसंघलाई दोष दिन मिल्दैन ।
० कुन पदमा लड्दै हुनुहुन्छ ?
– महामन्त्रीमा लड्छु ।
० तपाईंलाई पनि नेताको आशीवाएद चाहिएला नि ?
– नेताको आर्शीर्वादबिना उम्मेदवार बन्न सकिँदैन रहेछ । नेताले मेरो कामको मूल्यांकन गरेर टिकट दिने हो, त्यसका लागि मैले ग्राउन्ड बलियो बनाएर चुनाव जित्ने हो । नेताले टिकट दिए म आफंै खटेर महामन्त्री बन्न सक्छु भन्ने लाग्छ । नेताको आशीर्वादभन्दा बढी मेहनत मेरो हुनुपर्छ ।
० महिलालाई महामन्त्रीको टिकट देलान् र ?
– लोकतान्त्रिक पार्टीमा लैंगिक दृष्टिले हेर्नु हुँदैन, व्यक्तिको क्षमता हेर्नुपर्छ । नेतृत्व छनोट गर्दा काम र क्षमताको आधार बनाउनुपर्छ, लिंगलाई होइन ।
० केही गर्न सकिएन भन्नुहुन्छ, के मूल्यांकन होला ?
– हामीले काम गर्ने वातावरण भएन । उपत्यकाबाट सर्वाधिक मत ल्याएर म विजयी भएकी थिएँ, यद्यपि मलाई कुनै जिम्मेवारी दिइएन । केन्द्रीय सदस्य भनेको मूल्यांकन गर्नुपर्ने पद होइन रहेछ । दक्षता र सक्रियताका साथै मेरो सम्भावना हेर्ने हो, त्यो मैले देखाएजस्तो लाग्छ ।
० केन्द्रीय सदस्यबाट महामन्त्रीमा छलाङ मार्ने ?
– उमेरहद लाग्दैगर्दा म २४ वर्षको मान्छेले महामन्त्रीको दाबी गर्नु छलाङ होजस्तो लाग्दैन । म अरुजस्तो नेविसंघ भनेर ५०औं वर्ष कुरेर बस्न सक्दिनँ । म विद्यार्थी हुँदै गर्दा मैले नेतृत्व लिन पाउनुपर्छ, यो मेरो दाबी हो ।
० महामन्त्रीको टिकट दिन्छन् त ?
– दिनुपर्छ ।
० कुन समूहबाट चुनाव लड्नुहुन्छ ?
– संगठनमा काम गर्न टिम चाहिँदो रहेछ । म रामचन्द्र पौडेलको समूहबाट प्रतिनिधित्व गरेर चुनाव लड्छु । तर म कुनै पनि समूहलाई टिमको चस्माले हेर्दिनँ ।
तरुण खबर डटकम बाट साभार